Section 158
यातायात निरीक्षकको काम, कर्तव्य र अधिकार
यातायात निरीक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–
(क) यातायात सेवामा संलग्न सार्वजनिक सवारीले बाटोको इजाजतपत्र प्राप्त बाटोमा यातायात सेवा सञ्चालन गरे नगरेको निरीक्षण गर्ने ।
(ख) यातायात सेवामा संलग्न भएका सार्वजनिक सवारीहरूले निर्धारित सीट तथा वजन क्षमताका अधीनमा रही यात्री राख्ने तथा मालसामान लाद्ने कार्य गरे नगरेको निरीक्षण गर्ने ।
(ग) यातायात सेवामा संलग्न सवारीहरूले समय समयमा यस ऐन बमोजिम गर्नु पर्ने जाँचपास गराए नगराएको तथा त्यसरी सञ्चालित सेवा पञ्जीकृत भए नभएको जाँच गर्ने ।
(घ) चालक, परिचालकको अनुमतिपत्र तथा यात्रीसूची हेर्ने र यात्रीको टिकट जाँची निर्धारित भाडादर बमोजिम भाडा लिइएको नलिइएको तथा निर्धारित गतिमा सवारी चलाइएको नचलाइएको कुराको निरीक्षण गर्ने ।
(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालन चालक, परिचालक, सवारी धनी वा व्यवस्थापकले गरेको छ छैन भन्ने कुराको समय समयमा निरीक्षण गर्ने ।